spot_img

आयुर्वेद चिकित्साः एक संक्षिप्त परिचय

आयुर्वेद चिकित्सा पूर्वीय दर्शनमा आधारित संसारकै पूरानो एवं नेपालको मौलिक चिकित्सा पद्धति हो । संसारमा प्रचलित अनेक चिकित्सा पद्धतिहरूमध्ये आयुर्वेद चिकित्सा पद्धति सबैभन्दा पुरानो एवं प्रकृतिप्रदत्त चिकित्सा पद्धति हो जुन हाम्रो हावापानी, संस्कृति एवं जनजीवनको अभिन्न अङ्गको रूपमा स्थापित छ । आयुर्वेद चार वेदमध्ये अथर्ववेदको उपवेद हो । आयु भनेको जीवन हो । यसर्थ जीवनको रक्षाका लागि अवलम्बन गर्नुपर्ने विभिन्न उपायहरूको वर्णन गरिएको शास्त्र नै आयुर्वेद हो । आयुर्वेद चिकित्सा पद्धति मात्र नभएर जीवनको विज्ञान हो । जुन शास्त्र (वेद वा ग्रन्थ) मा हितायु, अहितायु, सुखायु, दुःखायुको परिचय र यी चारै प्रकारका आयुको लागि हित (पथ्य, लाभदायक) एवं अहित (अपथ्य, हानिकारक) विषयवस्तुहरू, आयुको मान (प्रमाण–अप्रमाण) र आयुको स्वरूपका बारेमा बताइन्छ, त्यसलाई आयुर्वेद भनिन्छ ।

प्रयोजनं तस्य स्वस्थस्य स्वास्थ्य रक्षणम् आतुरस्य विकार प्रशमनं च ।

आयुर्वेदको उद्देश्य वा प्रयोजन मुख्य रूपमा दुई वटा छन्ः स्वस्थस्य स्वास्थ्यरक्षणम् अर्थात् स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र आतुरस्य विकारप्रशमनम् अर्थात् रोगी व्यक्तिको रोगको उपचार गर्नु । स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा शरीरलाई हित गर्ने आहार (खानपान), विहार (रहन सहन, आचरण) आदिद्वारा गर्न सकिन्छ भने रोगी व्यक्तिको रोगको निवारण चिकित्साद्वारा गर्न सकिन्छ जसका लागि विभिन्न किसिमका औषधी एवं व्यायाम, योग, पञ्चकर्म आदिको प्रयोग गर्न सकिन्छ ।

आयुर्वेदका आठवटा अङ्ग छन् जसलाई अष्टाङ्ग आयुर्वेद भनिन्छः

१. काय चिकित्सा (Internal medicine): शरीरका घटक तत्वहरूमा भित्री कारणबाट उत्पन्न विषमताद्धारा हुने रोगको चिकित्सालाई काय चिकित्सा भनिन्छ ।

२. कौमारभृत्य (बालरोग, स्त्रीरोग तथा प्रसुतितन्त्र): बालकहरूको जन्मदखि संरक्षण, पोषण र रोगको निवारण गर्ने अङ्गलाई कौमारभृत्य भनिन्छ ।

३. शल्य तन्त्र (Surgery): बाहिरी घाउचोटबाट उत्पन्न हुने घाउ आदिको उपचार तथा शरीरलाई वाधा पु¥याउने तत्व (शल्य)लाई शल्य तन्त्र भनिन्छ ।

४. शालक्य तन्त्र (Ear, Nose, Throat)M घाँटीदेखि माथि आँखा, नाक, कान आदिमा लाग्ने रोगहरूको उपचार गर्ने शास्त्रलाई शालक्य तन्त्र भनिन्छ ।

५. भूतविद्या (Demonology)M अदृश्य जीवहरूको शरीरमा प्रवेशबाट उत्पन्न हुने रोगहरूको उपचार गर्ने अङ्गलाई भूतविद्या भनिन्छ ।

६. आगदतन्त्र (Toxicology): खनिजको रूपमा पाईने, वनस्पतिहरूबाट पाईने र जीवजन्तुहरूको टोकाईबाट शरीरमा जाने विषको उपचार गर्ने अङ्गलाई आगदतन्त्र भनिन्छ ।

७. रसायन तन्त्र (Rejuvination)M शरीरलाई सधैँ स्वस्थ र सक्रिय पार्न तथा वृद्धावस्थामा देखिने समस्याहरूको निवारण गर्ने अङ्गलाई रसायनतन्त्र भनिन्छ ।

८. बाजीकरण (Science of Aphrodisiac): शरीरलाई हृष्टपुष्ट पार्न, यौनशक्ति बढाउन, सन्तानोत्पत्तिमा बाधा भएमा त्यसको उपचार गर्ने अङ्गलाई बाजीकरण भनिन्छ ।

आयुर्वेदको सिद्धान्त

शरीर, इन्द्रियहरू, मन र आत्माको संयोगलाई आयु वा जीवन भनिन्छ । आयुर्वेद त्रिदोषको सिद्धान्तमा आधारित छ । शरीरलाई प्रभावित पार्ने वा दूषित गर्नेलाई दोष भनिन्छ । मनलाई प्रभावित गर्ने वा दुषित गर्ने दोषलाई मानस दोष भनिन्छ । वात, पित्त र कफ शारीरिक दोष हुन् भने रज र तम मानसिक दोष हुन् । वास्तवमा मनलाई प्रभावित गर्ने तीन कारण छन्– सत्व, रज र तम । तर सत्व गुण स्वयं विशुद्ध छ । अतः यसद्वारा मनमा कुनै प्रकारको विकार उत्पन्न हुँदैन भने रज र तमले मनलाई विकृत गर्दछन् । शरीरमा दोषहरू साम्य अवस्थामा रहँदासम्म व्यक्ति स्वस्थ हुन्छ भने यदि कुनै दोष बढी वा घटी भयो भने त्यहीअनुसारको रोगका लक्षणहरू देखा पर्दछन् । घटेको दोषलाई बढाएर तथा बढेको दोषलाई घटाएर साम्य अवस्थामा ल्याउनु नै आयुर्वेद चिकित्साको उपचारको मुख्य सिद्धान्त हो । यसको लागि दोषअनुसारको खानपान, व्यायाम, क्रियाकलाप आदि गर्नु अति आवश्यक छ ।

स्वास्थ्यको परिभाषा

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई “स्वास्थ्य भनेको शारीरिक, मानसिक एवं सामाजिक रुपले पूर्ण स्वस्थताको स्थिति हो” भनी व्याख्या गरेको छ । त्यस्तै, आयुर्वेदअनुसार स्वस्थ व्यक्ति भन्नाले दोष, धातु र मलको सही अवस्था एवं आत्मा, इन्द्रिय र मन प्रसन्न रहेको अवस्था भन्ने बुझिन्छ । यसर्थ, जीवनको सन्तुलित अवस्था अर्थात् शारीरिक आयाम (Physical aspect):  दोष, धातु, मल र अग्निको सन्तुलित अवस्था; मानसिक आयाम (Psychological aspect): मनको सन्तुलित अवस्था; सामाजिक आयाम (Social aspect): इन्द्रियको सन्तुलित अवस्था, आत्मिक आयाम (Religious/emotional aspect): आत्माको शान्त अवस्था भएमा व्यक्ति स्वस्थ हुने भन्ने बुझिन्छ ।

औषधीको प्रयोग

समदोषः समाग्निश्च समधातु मलक्रियः ।
प्रशन्नात्मेन्द्रिय स्वस्थ इत्यभिदियते ।।

रोगको उपचारमा प्रयोग गरिने आयुर्वेदका औषधीहरू विभिन्न स्रोतहरूबाट तयार गरिन्छ । ती मध्ये वनस्पतिजन्य (औषधीजन्य वनस्पति वा जडीबुटी), पशुपंक्षीजन्य (जस्तै सामुद्रिक पशुका भष्म, मह, पित्त आदि) र खनिज पदार्थ (जस्तै धातु, स्वर्ण, आदि) प्रमुख मानिन्छन् । वनस्पतिजन्य औषधीमा विभिन्न प्रकारका जडीबुटीहरूको प्रयोग सबैभन्दा बढी हुन्छ । स्थानीय रूपमा पाइने बहुमूल्य जडीबुटीहरूबाट निर्मित आयुर्वेदीय औषधीहरू प्रभावकारी मात्र होइन प्रतिकूल एवं प्रतिक्रियाजन्य प्रभाव नहुने वा कम हुने हुन्छन् । यसको साथै यस चिकित्सा पद्धतिमा स्वास्थ्य रक्षा एवं रोग निवारणको लागि अन्य प्रक्रियाहरू जस्तै शोधन चिकित्सा (पञ्चकर्म), षट्कर्म, अग्निकर्म, योग, शल्यक्रिया (क्षार सूत्र आदि) आदिको पनि प्रयोग गरिन्छ ।

अन्त्यमा

स्वस्थ रहन एवं स्वास्थ्यको परिरक्षण गर्ने उद्देश्यले स्वस्थ पुरुषलाई नित्य बिहान उठ्नासाथ जुन जुन काम गर्नुपर्दछ त्यसलाई नै स्वस्थवृत्त भनिन्छ । स्वस्थवृत्तको पालना गर्नाले रोगबाट टाढा रहनुका साथै आरोग्यपूर्वक जीवनयापन गर्न सकिन्छ । आयुर्वेदमा स्वस्थ रहनको लागि दैनिक रुपमा नियमित पालना गर्नुपर्ने क्रियाकलापहरू (दिनचर्या), सन्ध्या/रात्रीमा पालन गर्नुपर्ने क्रियाकलापहरू (रात्रीचर्या), ऋतु अनुसार गर्नुपर्ने क्रियाकलापहरू (ऋतुचर्या), आचार रसायन, योग  तथा अन्य निरोग रहने उपायहरूको वर्णन गरिएको छ ।

यसर्थ, पूर्वीय दर्शनमा आधारित आयुर्वेद चिकित्सा पद्धति स्वस्थ एवं सार्थक जीवन व्यतित गर्न अपरिहार्य छ । आयुर्वेदमा वर्णन गरिएका स्वास्थ्यका आयामहरूको परिपालन गरी स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा तथा रोगको निवारण गर्नु आजको आवश्यकता हो । दोष, धातु, मल र अग्निलाई सन्तुलित एवं आत्मा, इन्द्रिय र मनलाई प्रशन्न राखी स्वस्थ जीवन व्यतित गर्नको लागि आयुर्वेदको सिद्धान्तहरू व्यवहारमा उतार्नुपर्दछ । समुचित आहार, विहार, दिनचर्या, रात्रीचर्या, ऋतुचर्या, आचार रसायन, योग तथा अन्य निरोग रहने उपायहरू अबलम्बन गरी स्वस्थ जीवन यापन गर्न सकिन्छ । साथै, रोग लागेको अवस्थामा आयुर्वेदिय औषधीहरू तथा स्थानीय स्तरमा पाइने जडीबुटीहरूको समुचित प्रयोग गरेर स्वास्थ्य रक्षा गर्न सकिन्छ ।

लेखकः डा. अञ्जु कार्की
प्रमुख, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोक

डा. अञ्जु कार्की
+ posts

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री
%d bloggers like this: