नेपालमा विद्यमान थुप्रै सामाजिक मुद्धाहरुमध्ये बालविवाह पनि एक हो । यस मुद्धाले सिंगो समाजको विकासक्रमलाई नै नकारात्मक असर पारेको छ । नेपालको कानुनले १८ वर्षभन्दा मुनिकाहरुको विवाहलाई बालविवाहको रुपमा व्याख्या गरेको छ । कानुनी रुपमा बालविवाह बन्देज भए तापनि व्यवहारमा भने यो अझै कायमै छ । परिवारको दवावमा परेर, साथीहरुको लहैलहैमा लागेर मात्र नभई केटा वा केटीहरुले आफूखुसी पनि बालविवाह गर्ने गरेको पाइन्छ । विभिन्न प्रतिवेदन तथा दैनिकैजसो अखवारमा आउने खबर हेर्दा कतिपय बालिकाहरु १४ वर्षको उमेरको हुँदादेखि नै विवाह हुने गरेको देखिन्छ । यस्ता घटना प्राय अति विपन्न परिवार र सामाजिक रुपमा पछाडि पारिएका वर्ग र जातिमा बढी हुने गरेको पाइन्छ ।
नेपालका अन्य समुदाय झैँ पर्वत जिल्ला, मोदी गाउँपालिका, वडा नं ८, चित्रे गाउँ पनि बालविवाहको समस्याबाट मुक्त हुन सकेको छैन । वि.सं. २०७२ सालको तथ्याङ्क हेर्दा त्यो वर्ष कुल विवाह गर्नेको सङ्ख्यामध्ये २० प्रतिशत बालबालिका रहेको पाइएको छ । अहिले त्यो तथ्याङ्कमा धेरथोर फरक देखिए तापनि बालविवाहको समस्या अद्यापि कायमै छ । यस भेगमा विशेषतः दलित र आर्थिक रुपमा विपन्न परिवारमा यो समस्या ज्यादा रहेको देखिन्छ । चित्रेको एकजना किशोरीको बालविवाहको घटनालाई यस लेखमार्फत प्रस्तुत गर्ने जमर्को गरिएको छ । उक्त घटनामार्फत बालविवाह किन हुन्छ, कसरी हुन्छ र यसले कस्तो प्रभाव पार्ने गरेको छ भन्नेबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
वि.सं. २०५२ सालमा जन्मेकी मेलीना सुनार (नाम परिवर्तन) ले आफूखुसी १६ वर्षको कलिलै उमेरमा कक्षा ७ मा पढ्दैगर्दा पढाई बिचैमा छाडेर विवाह गरिन् । विवाहपश्चात् उनी आफ्नो माइतघर छाडी श्रीमानको घर गइन् । आफूखुसी विवाह गरेकोबारे मेलीना ‘भविष्यमा बुबाआमाले आफूले मन पराएको केटासँग विवाह गरिदिने छैनन् भन्ने सोँचेर विगत १० महिनादेखि मन पराएको केटासँग विवाह गरेको’कुरा बताउँछिन् । ‘हाम्रो प्रेमलाई सफल पार्ने इच्छाले छिटो विवाह गरेको हो’ उनी थप्छिन् ।
विवाहपश्चात् मेलीना र उनको श्रीमान् दुवैजना सँगै बस्न थाले । सुरुसुरुमा श्रीमानको परिवारले पनि राम्रै व्यवहार देखायो । परिवारको आर्थिक अवस्था बलियो थिएन । परिवारलाई खानबस्न सहज थिएन । परिवारमा छलफल भएर उनका श्रीमान् रोजगारीका लागि विदेश जाने कुरा भयो । आफ्नो माइती, नातागोता सबैलाई त्यागेर श्रीमानलाई नै सम्पूर्ण कुरा ठानेर आएको मेलीनालाई श्रीमानलाई खाडी मुलुकमा पैसा कमाउन पठाउने इच्छा त थिएन, तर परिवारको आर्थिक अवस्था सुधार्नका लागि आफ्नो इच्छा मारेरै भए पनि उनलाई विदेश पठाउन राजी भइन् ।
श्रीमान् विदेश गएपछि श्रीमानका परिवारका सदस्यहरुले गर्ने व्यवहारमा विस्तारै परिवर्तन आउन थाल्यो । बिस्तारै उनीहरुको व्यवहारमा कठोरता झल्कन थाल्यो । मेलीनाले पीडा महसुस गर्न थालिन् । सासु, ससुरा, नन्द र आमाजुको नराम्रो व्यवहारबाट दुःख लागे तापनि श्रीमानले त माया गरिहाल्छ नी भन्ने विश्वासमा दुःख कष्ट सहेरै बसिन् । विदेशबाट कहिलेकाहिँ श्रीमानले एककल फोन गर्दा पनि उनलाई असिम आनन्द मिल्थ्यो । दिन, महिना बित्दै गयो । बिस्तारै विदेशबाट श्रीमानको फोन आउने क्रम पनि पातलिँदै गयो र केही महिना पछि त फोन आउनै छाड्यो । यसै बिचमा घरपरिवारको बचन पनि बढ्न थाल्यो । गालीगलोज, लम्कीझम्की र तारन्तारको घोचपेचमा वृद्धि भयो । उता श्रीमानसँग सम्पर्क नहुने र यता परिवारकाले ‘तँ अर्कै केटा खोजेर विवाह गरेर गए हुन्छ’ भन्ने वचन सुन्नुपर्दा मेलीनालाई मरेतुल्य हुन्थ्यो । उनको लागि त्यो घरमा प्रत्येक पल पीडादायी हुनथाल्यो । एकदिन त श्रीमानले पनि आफ्नी आमालाई फोन गरेर ‘त्यो अर्कोसँग नगई अझै किन बसेकी’भनेको थाहा पाउँदा भने उनको मुटु नै छियापरेको जस्तो भयो । त्यसपछि त उनलाई त्यो घरमा बस्ने कुनै इच्छा भएन । उनीप्रति परिवारको दूर्व्यवहार झनै बढ्न थाल्यो । असैह्य भएपछि मनभरी पीडा र वेदना बोकेर एकदिन उनी रुँदैरुँदै आफ्नो माइती घर फर्केर आइन् ।
बाबुआमालाई चटक्कै छाडेर उनीहरुको इच्छाविपरित विवाह गरेर गएकी मेलीनालाई माइतघर फर्केर आउँदा मनमा डर नलागेको होइन । तर, पनि उनीसँग अर्को कुनै विकल्प थिएन । आफूखुसी विहे गरेर जिन्दगीमा ठूलो गल्ती गरेको महसुस भयो । आखिरमा आफूलाई नौ महिनासम्म कोखमा राखेर विभिन्न दुःख कष्ट सहेर जन्म दिने आमा र आफूलाई हुर्काउने बाबुले के भन्ने हुन् भन्ने चिन्ता पनि थियो । तर, माइत फर्केर आएपछि बाबुआमाबाट उनलाई सहयोग मिल्यो । अभिभावकसँग बस्न थालेपछि केही राहत मिल्यो । तापनि, अवस्था पहिलेको जस्तो थिएन । आफूलाई आवश्यक पर्ने कुराहरु बाबुआमासँग पहिले जस्तो भन्न सक्दिनथिइन् । केही दिनसम्म त उनलाई बाबुआमासँग खुलेर कुरा गर्न र हाँस्न पनि धक लागेको जस्तो भयो । उनको मनमा आउन थाल्यो कि आफूले सानै उमेरमा विवाह नगरी पढेर बसेको भए आफूप्रति बाबुआमाको माया ममता पहिलेको जस्तै हुन्थ्यो होला । आज यसरी डराउन पर्ने थिएन । भाईबहिनीले जस्तै ढुक्कसँग आफूलाई आवश्यक परेका कुराहरु माग्न सकिन्थ्यो होला । गाउँमा वरपर हिँड्दा पनि छिमेकी र चिनेजानेकाहरुले छिःछिःको नजरले हेर्थे । कतिले त बचन पनि लाउँथे । उनलाई आफू यो संसारमा एक्लै भएको जस्तो महसुस हुन्थ्यो । आफ्नै गल्तिका कारण यस्तो भइरहेको छ भन्ने लाग्थ्यो । यस्ता कुराहरुको सामना गर्नुपर्दा उनलाई खुबै पीडा हुन्थ्यो । कतिपटक त मेलीनामा बरु मरेर गइयो भने आनन्द हुन्छ कि भन्ने सोँच पनि आएको थियो । उमेर नपुगी बाबुआमाको स्विकृतिबिना विवाह गरेकोमा उनलाई पश्चाताप हुन्थ्यो ।
माइतको आर्थिक अवस्था पनि कमजोर नै थियो । काम नगरी हातमुख जोर्न मुस्किल पर्थ्यो । मनमा चोट र पीडा भए तापनि जीवनयापनका लागि ज्याला मजदुरी र मेलापात गर्न थालिन् । केही व्यवशाय गरौँ भने हातमा पैसा छैन । कुनै संस्थामा सहयोग मागौँ वा सरकारसँग तालिम वा कुनै सहयोग लिन नागरिकता पनि छैन । जागिर खाउँ भने पढाई छैन । ‘यदि पढाई पुरा गरेको भए अहिले यो अवस्था भोग्नुपर्ने थिएन, कुनै पेशा गरेर भए पनि जीवन निर्वाह गर्न सकिन्थ्यो’भन्ने सोँच आउँदा उनको मनमा झनै पीडा थपिन्थ्यो । यस्ता कुराले उनलाई दिनरात पिरोली रहन्थ्यो ।
मेलीनाका बाबुआमालाई पनि छोरीको चिन्ता छ । जुवाइँ विदेशबाट फर्केपछि यो समस्यालाई वारकि पार गर्नुपर्छ भन्ने सोँचाई थियो उनीहरुमा । मेलीनालाई अब अर्को विवाह गर्नुभन्दा पनि आफूलाई कहीँकतैबाट सहयोग भएमा एउटा सानोतिनो भए पनि व्यवशाय गरेर जीवन चलाउने बिचार राखिन् । उमेर नपुगी विवाह गर्नु र बाबुआमाको सल्लाह विपरित हिँड्नु भनेको भिरबाट हामफाल्नु जस्तै रहेछ भन्ने कुरा उनले महसुस गरेकी छिन् । जीवनमा आफूले गरेको गल्ति सम्झँदा कहाँ जाउँ, के गरौँ भन्ने लागेर मन आत्तिने गरेको छ । बालविवाहको कारण मेलीना मानसिक रुपमा पीडित छिन् । उनको स्वभावमा ठुलो परिवर्तन भएको छ । सानो समस्या पर्दा पनि डराउने, अत्तालिने र रोइरहने स्थिति देखिएको छ । मेलीनालाई लाग्यो ‘अब मेरो जीवनमा खुसी कहिल्यै आउने छैन’ ।
मेलिनाको स्थिति देख्दा बालविवाह गर्ने बालिकामा विभिन्न प्रकारका नकारात्मक असर पर्ने देखिन्छ । पहिलो त बालिकाको मानसिक अवस्थामा आघात पुग्दछ । सानै उमेरमा परिवारका सदस्यहरुबाट गालीगलोज, धम्की र कुटपिट जस्ता दूर्व्यवहार भोग्नुपर्ने हुन्छ । खाने–खेल्ने उमेरका बालबालिकाले खुम्चेर बस्नुपर्ने स्थिति आउँछ । यसले उनीहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर पर्दछ । सँधै पीडा खप्नुपर्ने स्थितिमा रहेकाहरु मानसिक रुपमा बिरामी हुन सक्छन् । बालविवाह गर्नेहरुमध्ये धेरै कलिलो उमेरमा आमा बन्न बाध्य हुन्छन् । यसले आमा र बच्चा दुवैको स्वास्थ्य बिग्रन्छ । कलिलो उमेरमा आमा बन्नुपर्दा कतिपय आमाले अकालमा मृत्यु वरण गर्न पुग्छन् । पढाई पुरा नभई विवाह हुँदा एकातिर उनीहरुको पढाई सँधैको लागि रोकिन्छ भने यसै कारण जागिर पाउने, व्यवशाय गर्न सक्ने स्थिति रहँदैन र उनीहरु आफ्नो खुट्टामा उभिन सक्दैनन् । यसको कारण परिवार र छरछिमेकबाट पाउने पीडाबाट उनीहरुको मानसिक अवस्थामा असर पर्दछ । बालविवाहको सङ्ख्या बढ्दै गएमा समुदाय र सिंगो देशको विकासको लागि सोँच्ने र कामगर्ने जनशक्ति निर्माण हुन सक्दैन । यसले देशको आर्थिक अवस्थामा प्रतिकुल असर पार्दछ । तसर्थ बालविवाहले चौतर्फी रुपमा नकारात्मक असर पर्ने देखिन्छ ।
चेतनाको कमीलाई बालविवाहको एक प्रमुख कारण मान्ने गरिन्छ । अभिभावकमा चेतना नहुनु, समुदाय यसबारे सचेत नहुनु र किशोरकिशोरीमा बालविवाहको नकारात्मक असरबारे ज्ञान नहुँदा वा किशोरकिशोरीले विवाहलाई एक घटनाको रुपमा मात्र लिँदा बालविवाहको घटनामा वृद्धि हुँदै गइरहेको छ । गरिवीलाई बालविवाहको अर्को कारण मान्न सकिन्छ । आर्थिक अभावका कारण पढाइलाई निरन्तरता दिन नसक्नु, कलिलै उमेरदेखि काममा लाग्न बाध्य हुनु र सोही कारण सानै उमेरमा विवाह गरेर पठाइदिने गरेको पनि पाइन्छ । त्यस्तै, सानै उमेरदेखि काममा लाग्नुपर्दा बालिकाहरुमा ‘बरु विवाह गरेर गएमा केही सुख हुन्छ कि’ भन्ने भावना पैदा हुँदा पनि बालविवाहमा वृद्धि हुन सक्छ । कतिपय आमाबाबुमा छोरी पराईको घरमा जाने जात हो भन्ने अन्धविश्वास हुँदा पनि समाजमा यो समस्या रहँदै आएको छ । केही वर्ष यता मोबाइल फोन र सामाजिक सञ्जालको दुरुप्रयोगका कारण बालविवाहको घटनामा वृद्धि हुँदै गइरहेको छ । किशोरकिशोरीहरु भावनामा बग्ने गर्दछन् र कहिलेकाहिँ उनीहरु ठिकवेठिक छुट्याउन सक्दैनन् । साथीभाईले गर्ने कामले उनीहरुलाई छिट्टै प्रभाव पार्दछ । त्यस्ता किशोरीहरुलाई कसैले मिठो कुरा गरिदियो भने वहकिन्छन् र गलत निर्णय गर्न पुग्छन् । यौन विषयप्रति कौतुहलता हुनु र यसबारे सत्यतथ्य जानकारी नपाउँदा पनि उनीहरु यौनप्रति गलत तरिकाले आकर्षित हुन पुग्छन् र विवाह जस्तो सिंगो जीवनसँग सम्बन्धित कुरामा पनि हतारिएर निर्णय गर्दछन् ।
बालविवाह रोक्नका लागि मुलतः स्थानीय सरकार सजग हुनु पर्दछ र यसको रोकथामको लागि सही योजना र रणनीति लागु गर्नु पर्दछ । साथै, बालबालिकासँग सम्बन्धित सरोकारवालाहरुले बालविवाह रोकथामको लागि सहकार्य गर्नुपर्छ । अभिभावकहरुले सँधै आफ्ना छोराछोरीहरुसँग कुराकानी गर्ने, उनीहरुको कुरा सुन्ने, उनीहरुको भावना बुझ्ने र उनीहरुलाई सही दिशानिर्देश गर्नु पर्दछ । बालविवाह रोकथाममा विद्यालयको भूमिका पनि अत्यन्तै महत्वपूर्ण हुन्छ । विद्यालय र समुदायमा पनि बालमैत्री वातावरण सिर्जना गर्नु पर्दछ ताकि बालबालिका सँधै सिर्जनात्मक कुरामा सक्रिय होउन् । विद्यालय, स्वास्थ्यचौकी, सामाजिक संघसंस्था र स्थानीय सरकारले बालबालिकाको कुरा सुन्ने वातावरण तयार पार्नुपर्छ । यसले बालबालिकासँग सम्बन्धित निर्णय प्रक्रियामा बालबालिकाको कुरा सुन्ने, उनीहरुको बिचार लागु गर्ने स्थिति बन्दछ । यस्ता कार्यले बालबालिकालाई सम्मान गर्दछ र उनीहरुलाई सँधै रचनात्मक कार्य गर्न प्रेरित गर्दछ । यस्ता संस्थाहरुले र समाजका प्रवृद्ध वर्गले बालविवाहको नकारात्मक पक्षबारे बहसको थालनी गर्नु पर्दछ र यसमा बालबालिकालाई पनि सहभागी गराउनु पर्दछ । बालविवाह हुने समाजलाई बालमैत्री समाज भन्न सकिँदैन ।
कृपा ढुंगाना पर्वत जिल्ला, मोदी गाउँपालिका, वडा नं ८ चित्रेमा
सामाजिक अभियान्ताका रुपमा सकृय हुनुहुन्छ



