spot_img

जलनका बिरामीको लागि आवश्यक आहार

आगोले पोलेर, तातो झोल पदार्थ शरीरमा परेर, करेन्ट लागेर वा अन्य कुनै कारणले जलन भएका बिरामीहरूको शरीरबाट पानी निस्कने हुँदा उनीहरू अत्यन्तै कमजोर भएका हुन्छन् । आगोले पालेर ‘गहिरो जलन’ भएको छ भने त जलेको भागबाट धेरै पानी निस्कन्छ र शरीरमा पानीको कमी भएकै कारण बिरामीको ज्यानै पनि जान सक्छ । त्यस्तै, जलनका बिरामीहरूको शरीरमा तागतको कमी हुन्छ, जसले गर्दा जलनको उपचारको क्रममा उनीहरूलाई विशेष प्रकारका आहारको आवश्यकता पर्दछ । जलनका बिरामीको हेरचाह गर्ने व्यक्तिका साथै स्वास्थ्यकर्मीहरूलाई पनि जलनको बिरामीलाई ‘के खुवाउनु पर्छ र के खुवाउनु हुँदैन’ भन्नेबारे ज्ञान हुनु पर्दछ । तसर्थ, जलनको बिरामीहरूको लागि आवश्यक आहारबारे जानकारी गराउन यस लेख तयार पारिएको हो ।

जलनको बिरामीका लागि आवश्यक खाना
जलनका बिरामीलाई अन्य रोगको बिरामीलाईभन्दा बढी पोशिलो र तागतिलो खानेकुरा खुवाउनु पर्दछ । बिरामीको घाउ चाँडै निको हुनका लागि विभिन्न प्रकारका पोषणयुक्त खानेकुराको आवश्यकता पर्दछ । जलनका बिरामीहरूलाई साबिकको समयमाभन्दा बढी मात्रामा कार्बोहाइट्रेट, प्रोटिन, चिल्लो पदार्थ तथा भिटामिन आवश्यक हुन्छ । साधारणतया जलनका बिरामीले खानुपर्ने खानामा दाल, भात, तरकारी, साग, माछा, मासु, अण्डा, पनिर, तोफु, दूध, दहि र मोहि पर्दछ ।

खानाको मात्रा, खाने तरिका र खानाको तालिका
बिरामीको शरीरमा जलन भएको क्षेत्र (प्रतिशत) र गहिराईअनुसार खानेकुराको मात्रा निर्धारण गर्नु पर्दछ । जलनको प्रतिशत, जलन भएको व्यक्तिको उमेर, उनको तौल, आदि सबै कुराको विचार गरेर आहार तालिका बनाउनु पर्दछ । जलन भएको व्यक्ति बालबालिका, युवा, वयस्क वा वृद्धवृद्धा को हुन् भन्ने कुराका आधारमा खानाको प्रकार र मात्रा निर्धारण गरिन्छ । यसका साथसाथै बिरामीलाई खानाबारे सुझाव दिँदा बिरामी कहाँबाट आएको हो, त्यहाँको खानपिन अवस्था कस्तो छ, बिरामीको खाना खानसक्ने क्षमता, उनको आनिबानी सबै कुराहरूको बिचार गर्नु जरुरी हन्छ । बिरामी अस्पतालमा रहुन्जेल मात्र पोषिलो खानेकुराहरू खाएर हुँदैन, जलनको घाउ निको भएको केही समयसम्म पनि पोषिलो खानेकुराहरू खानु जरुरी हुन्छ । कतिपय मानिसहरूमा जलन हुनुअघिको उसको खानेबानी र जलन भएपछि उपचार हुने क्रममा आवश्यक खानपानमा भिन्नता हुनसक्छ । तसर्थ, यस्तो अवस्थामा बिरामी वा बिरामीको परिवारले आहार विशेषज्ञकोे परामर्शम लिँदा उपयुक्त हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा भनेको पाको उमेरका मानिसहरूलाई पचाउन सक्ने खाना दिनुपर्छ । जलनका बिरामी बालबालिका हुन् भने उनीहरू खाना खान रुचि राख्दैनन् । त्यसैले, उनीहरूलाई आकर्षक ढंगले खाना देख्दा ‘खाउँ खाउँ लाग्ने’ गरी खानेकुरा दिनु पर्दछ ।

जलन भएको बिरामीको शरीरमा पानीको मात्रा कम हुन्छ । रगत पनि कम हुनसक्छ । उसमा रोगसँग जुध्न सक्ने क्षमता अत्यन्तै कम हुन्छ । त्यसैले उसले सामान्य व्यक्तिले खानेभन्दा बढी खाना खानु पर्दछ । बिरामीको तौललाई नियमित अनुगमन गरी तौललाई सन्तुलनमा राख्न पौष्टिक आहार दिनु पर्दछ ।

दीर्घरोग भएका जलनका बिरामीको लागि खाना
यदि जलनसँगै अरु कुनै रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, क्षयरोग, दम, आदि छ भने सोही अनुसारको पोषण आहार तालिका बनाएर दिनुपर्छ । यसमा व्यक्तिको उमेर, रोगको प्रकार, जलनको प्रतिशत, जीवनशैली, बिरामी शाकाहारी या मांसाहारी हो भन्ने बुझेर मात्र खानेकुराको आहार तालिका बनाउनु पर्दछ । पोषण र यसको महत्वबारे बिरामी र उनलाई रेखदेख गर्ने व्यक्तिलाई उचित सल्लाह दिनुपर्छ । सही परामर्शले बिरामीको हौसला बढाई चाँडो निको हुन मदत गर्दछ । यदि गम्भीर प्रकारको जलन भएको छ र बिरामीले मुखबाट खान सक्ने अवस्था छैन भने उसलाई नाकबाट पाइप राखेर झोलिलो खानेकुरा दिनुपर्छ । मौसम अनुसारको फलफूल, सागपात, तरकारी, माछा, मासु, दूध दही, मोही, पनिर, आलसको धुलो, बदाम, चना, आदि खानेकुरा मिलाएर दिनु पर्दछ ।

जलनको बिरामीले खान नहुने कुरा
जलनको बिरामीले कफि, चिया, चकलेट जस्ता क्याफेन भएका कुराहरू खानु हुन्न । त्यस्तै, केक, पाउरोटी जस्ता कुराहरू र मैदाबाट बनेको खानेकुरा (मम, चाउचाउ, चाउमिन) पनि नदिँदा राम्रो हुन्छ । अन्य पेय पदार्थको सम्बन्धमा कोक, फेन्टा दिनु हुँदैन । अहिले बजारमा पाइने रेडबुल जस्ता कुनै पनि प्रकारको ‘इनर्जी ड्रिङ्क’ जलनको बिरामीका लागि हानिकारक हुन्छ । साथै, यस्ता बिरामीले जाँड, रक्सी र चुरोट जस्ता कुराहरूको सेवन अनिवार्य रुपमा बन्द गर्नुपर्छ ।


लेखक मिरा शाह कीर्तिपुर अस्पतालमा आहार विज्ञका रुपमा कार्यरत हुनुहुन्छ

मिरा शाह
+ posts

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री
%d bloggers like this: